कोरोना संक्रमणबाट गण्डकीका १६ जना सहित देशभर थप ७५ जनाको ज्यान गयो

update

जेठ २०, पोखरा,

बिहिबार गण्डकी प्रदेशका थप ९ सय ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ३ सय ११ जनामा गरिएको नमुना परीक्षणमा कास्की जिल्लाका मात्रै ३ सय ३ जना सहित प्रदेशभर ९ सय ६ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४४ हजार ७ सय ४१ पुगेको छ ।

त्यस्तै बिहिबार गण्डकीबाट १ हजार ५३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३४ हजार ३ सय ४ पुगेको छ । त्यस्तै बिहिबार कास्कीका सात जना सहित गण्डकीमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ । गण्डकीमा संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ७ सय २३ पुगेको छ ।
यसैबिच
बिहिबार देशभर थप ६ हजार आठ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर १ लाख १ हजार आठ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै बिहिबार ५ हजार ९ सय ४ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै थप ७५ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ।