ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी

dewa

जेठ १९, काठमाण्डौ

नेपाली कांग्रेसले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको देशका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिनुभएको हो ।

चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको कांग्रेसले बताएको छ । विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोतहरू सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको स्मरण गराउँदै कांग्रेसले अहिले सरकारले प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेश क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र गरेको बताएको छ ।

देशले वर्षाैँदेखि व्यापार घाटा बेहोरिरहेको सत्य भए पनि त्यसलाई घटाउन देशलाई दीर्घकालीन असर पर्ने कदम चाल्नु स्वीकार्य नहुने र यो उचित विकल्प नभएको कांग्रेसले जनाएको छ ।