इजरायल–प्यालेस्टाइन युद्धमा अहिलेसम्म १०० भन्दा बढी प्यालेस्टिनीको ज्यान गयो

ijrail

बैशाख ३१, एजेन्सी

प्यालेस्टाइनसँगको टकराव बढ्दै जाँदा इजरायले गाजास्थित सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ । सोमबारदेखि जारी संघर्षमा दुवै पक्षबाट हवाई आक्रमण भइरहेका बेला सीमामा इजरायलले सेना तैनाथ गरेको हो ।

इजरायलले अब जमिनबाट पनि प्यालेस्टिनी विद्रोही संगठन हमासमाथि कारबाही गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सीमामा इजरायली सेनाले बख्तरबन्ध गाडी र ठूलो मात्रामा हतियारहरु ल्याएको छ । सेनाले कम्तीमा पनि ७ हजार रिजर्भ सैनिकलाई सीमामा बोलाएको बताइएको छ ।

बीबीसीका अनुसार सोमबार रातिदेखि सुरु भएको दोहोरो आक्रमणमा परी १ सयभन्दा बढीको मृत्यु भएको छ । प्यालेस्टाइनतर्फ २७ जना बालबालिकासहित १ सयभन्दा बढी र ७ जना इजरायली आक्रमणमा मारिएका छन् ।

यसैबीच इजरायलकै विभिन्न ठाउँमा यहुदी र अरब समुदायबीच झडप भइरहेको छ । इजरायलका रक्षामन्त्री बेनी ग्यान्ट्ज शान्ति स्थापनाका लागि सुरक्षा व्यवस्था चुस्त र कडा पार्न निर्देशन दिएका छन् । अहिलेसम्म हिंसामा संलग्न ४ सयभन्दा बढीलाई पक्राउ गरिएको पनि बताइएको छ ।

गाजा र इजरायलमा सोमबारदेखि भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । यसको सुरुवाती पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।