फेवातालको सिल्टेसन ड्याम भत्किएको एकमहिनापछि पुनःमर्मत गरिदिने निर्माण कम्पनीको प्रतिबद्धता

harpan-khola-dam

साउन ३०, कास्की,

फेवाताल संरक्षण गर्न बनाईएको सिल्टेसन ड्याम भत्किएको एकमहिनापछि निर्माण कम्पनीले पुनःमर्मत गरिदिने प्रतिबद्धता जनाएको छ । गत असार २३ गते फेवा तालको सिरान हर्पन खोलामा बनाईएको ड्याम भत्किएको थियो । ड्याम भत्किएपछि चौतर्फी आलोचना भएको थियो ।

चर्को आलोचना र दबावसँगै पोखरा महानगरपालिकाले कानूनी उपचार खोज्ने जनाउँदै ड्याम निर्माण कम्पनी खड्क, कृष्ण पिके जेभी दाङ घोराहीलाई पत्रचार गरेको थियो । पत्रचार गरेको एक महिनापछि प्रतिउत्तर दिदैं कम्पनीले ड्याम पुर्ननिर्माण गर्ने प्रतिबद्धता गरेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

ड्याम ७ करोड ८८ लाख रुपैयाँमा निर्माण पुरा गरिएको थियो । निर्माणकै क्रममा कमसल सामानको प्रयोग र गुणस्तरहीन निर्माण भएको व्यापक जनगुनासो थियो ।

गण्डकी प्रदेशका सदस्य तथा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी तथा उपमेयर मन्जुदेवी गुरुङको टोलीले समेत अनुगमन गरेर फर्किए पछि असारमा आएको बाढीले बाँध भत्काईदिएको थियो ।

महानगरपालिकाले त्यतिबेला नै ठेकेदार कम्पनीलाई सचेत गराउने तर्फ ध्यान नदिएको स्थानीयले गुनासो गरेका थिए । महानगरपालिकाले गम्भीर चासो नदिँदा असार २३ गते आएको बाढीले ड्याम भत्काउँदा बस्ती नै जोखिममा परेको थियो ।