जेठ ११, कास्की
शहरि क्षेत्रमा भन्दा ग्रामिण भेगमा कोरोना संक्रमण भुसको आगो झैँ बढ्दै गएको भन्दै जनस्वास्थ्य विदहरुले चिन्ता व्यक्त गरेका छन् ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार सहरमा कडा निषेधाज्ञाले संक्रमण ‘जाम’ भएपनि गाउँमा भने भुसको आगो फैलिएजसरी तिब्र भएको छ । ‘अझै दुईहप्ता कडा लकडाउन गर्ने हो भने शहरमा नियन्त्रण हुन्छ । सहरमा नियन्त्रणमा हुनु भनेको चेन ब्रेक हुनु हो,’ शर्माले भन्नुभयो ‘तर गाउँमा चेनब्रेक हुन नसकेको हो ।’ गाउँमा हिडडुलमा हल्का हुँदा यो अवस्था आएको उहाले बताउनुभयो ।
‘शर्माका अनुसार शहरका मान्छे कोरोनाप्रति केहि सचेत भएपनि गाउँमा भीडभाडमा छैनौ भन्ने सोँचेर ढुक्क भैदिँदा समस्या बढेको हो । सहरबाट गाउँ गएका आफन्तहरुबाट नै गाउँमा संक्रमण फैलिएको उहाको अनुमान रहेको छ ।
यसैबिच
बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा रहेका १ देखि ४ सम्मका वडा बाहेक बाँकी ५ देखि १४ सम्मका वडा गरि दशवटा वडा ग्रामिण भेग रहेपनि सोहि क्षेत्रमा कोरोनासंक्रमितहरुमा वृद्धि भएको पाईएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार अहिले नगरपालिकाभित्र ३ सय भन्दा बढी सक्रिय संक्रमित छन् । ती मध्ये १५० जना जना मात्र सहरी क्षेत्रका वडा (१ देखि ४ सम्म) छन् । बाँकी सबै ग्रामिण क्षेत्रका वडाका बासिन्दा हुन ।
ज्ञवालीका अनुसार ‘गाउँमा संक्रमणले डरलाग्दो अवस्था निम्त्याएको छ ।’ वडाको संख्याको हिसाबले मात्र सहरको भन्दा बढी भएपनि जनघनत्व गाउँमा निकै नै कम भएको उहाले बताउनुभयो ।
‘गाउँमा मास्क पनि नलगाउने, आफ्नै इष्टमित्र हुन भनेर आउजाउमा वेवास्ता गरिएको छ,’ उहाले भन्नुभयो, ‘इष्टमित्रको त्यही आउजाउ नै अहिले गाउँमा कोरोना फैलाउने माध्यम बनेको छ ।’ सहरको र गाउँको जनघनत्वको आकारका विश्लेषण गर्दा पनि आधा बढी संक्रमण ग्रामिण क्षेत्रमा हुनु डरलाग्दो भएको उहाले बताउनुभयो ।
उता स्याङजाको पुतलीबजार नगरपालिकाको अवस्था पनि त्यस्तै रहेको छ । पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार नगरपालिकाका १४ वटा वडा मध्ये तीनवटा (१, ३ र १३) को तुलनामा ग्रामिण क्षेत्रका ११ वटा वडामा भएका संक्रमितको संख्या बढी रहेको उहाले बताउनुभयो ।
अहिले गाउँमा कन्ट्याक्ट ट्रेसिङ पनि नहुनु, गाउँले आफै बिरामी भए भन्दै परीक्षण गर्न आए मात्र नमूना संकलन गरिनुले पनि तथ्याङ्कमा आएका भन्दा धेरै गाउँलेहरुमा संक्रमण भैसकेको हुनसक्ने अधिकृत शर्माले बताउनुभयो ।