दक्षिण कोरियाका राजदूत र अर्थ मन्त्री शर्मा बिच शिष्टाचार भेट

koria artha mantri

साउन १३, काठमाण्डौ,

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकले अर्थ मन्त्री जनार्दन शर्मासँग आज बुधवार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गर्नुभयो ।

जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिनुभयो ।

भेटका क्रममा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राख्नुभएको थियो । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उहाँले बताउनुभयो ।