पोखराको मणिपाल शिक्षण अस्पतालले कोरोना संक्रमित बालकलाई डिस्चार्ज गरिदियो

मणिपाल_शिक्षण_अस्पताल

जेठ १९, पोखरा,

कोरोना संक्रमित बालकको उपचारका लागि अभिभावकले धरौटी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको मणिपाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ ।

रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा जन्डिसको समस्या देखिएर अस्पतालमा उपचार गराइरहेको क्रममा कोरोना पुष्टि भएपछि अस्पतालले मागेको धरौटी रकम तत्काल जुटाउन नसक्दा अस्पतालले डिस्चार्ज दिएको बुढाले गुनासो गर्नुभयो ।

बुढाका अनुसार गत वैशाख २३ गते मणिपाल अस्पतालमा नर्मल जन्मिएका बालकको जेठ १ गते स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पतालले जन्डिस भएको भन्दै अस्पतालको एन–आइसियु वार्डमा ३ दिन राखेर उपचार गरेर घर पठाएको थियो । तर त्यसपछि पनि बच्चाको स्वास्थ्यमा झन् समस्या देखिँदै गएपछि बुढाले पुन ः जेठ १२ गते बुधबार बालकलाई अस्पताल भर्ना गरेका थिए ।

बुधबार एन आइसियु वार्डमा भर्ना गर्ने बेलामा १० हजार धरौटी मागेको अस्पतालले बिहीबार बालकमा कोरोना पुष्टि भएको जानकारी गराएको बुढाले बताउनुभयो ।

‘डाक्टरले बच्चाको अवस्था गम्भीर छ, तत्काल धरौटी बुझाएर उपचार शुरु गर्नुपर्छ भन्नुभयो । मैले कोभिडको निःशुल्क उपचार हैनर ? भनेर सोधँे । डाक्टरको टिमले छलफल गरेर ९० हजार धरौटी बुझाउनै पर्ने र दैनिक २२ देखि २८ हजारसम्म उपचार खर्च तिर्नुपर्छ भनेपछि मैले तत्काल सक्दिन भन्दा डिस्चार्ज दिनुभयो’ , बुढाले दुखी हुँदै भन्नुभयो । अस्पतालले केही सहुलियत दिनुहोस् म पैसा खोज्छु भन्दा समेत नमानेपछि आफू बालक बोकेर सुत्केरी श्रीमतीसहित अस्पतालबाट फर्किएको बुढाले बताउनुभयो ।

यो घटना बाहिर आएसँगै कोरोना महामारीमा गरिब, विपन्न तथा मध्यम वर्गका जनताको केही सर्तसहित निःशुल्क उपचार गर्ने भन्दै नेपाल सरकारसँग सम्झौता गरेको अस्पतालले सम्झौता विपरीत कार्य गरेको खुलेको छ । गम्भीर प्रकृतिका कोभिडका बिरामीको दैनिक १५ हजार रुपैयाँसम्मको खर्च सरकारले बेहोर्ने गरी भएको सम्झौताको मसी सुक्न नपाउँदै अस्पतालले सम्झौताको उल्लङ्घन गरेको हो ।

संक्रमितको अवस्था हेरेर दैनिक ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने र यदि दैनिक १५ हजार भन्दा बढी खर्च लाग्ने भएमा मात्र कोभिडका बिरामीले व्यवस्थापन गर्नु पर्ने गरी अस्पतालले संक्रमितको उपचार गर्न सरकार सँग सम्झौता गरेको थियो ।

अस्पताले दिएको डिस्चार्ज पेपरमा बच्चामा कोभिड सँगै गम्भीर प्रकृतिका स्वास्थ्य समस्या रहेको र मेडिकल एडभाइस बिना डिस्चार्ज दिइएको उल्लेख गरेको छ । सोही डिस्चार्ज पेपरमा बच्चाको पिआइसियुमा राखेर उपचार गर्नुपर्ने भएको तर अभिभावक गरिब भएकोले पैसा तिर्न नसेको उल्लेख गरिएको छ । कोरोना पुष्टि भएको बिरामीलाई यस प्रकारको डिस्चार्ज पेपर दिनुले पनि स्वयं अस्पतालले सरकारी सम्झौता उल्लङ्घन गरेको पुष्टि गरेको छ ।

यस विषयमा मणिपाल शिक्षण अस्पतालका कोभिड उपचार केन्द्रका संयोजक डा. अभिसेक मास्केलाई सोध्दा घटनाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

शिशुको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पैसाको अभावमा भर्खर जन्मिएको सन्तानलाई बचाउन नसक्ने भए भनेर रुँदै निस्किएका बुढा नाबालक छोरा र सुत्केरी श्रीमतीसहित एक जना चिनेका व्यक्तिको सल्लाहमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेका हुन् ।

घटनाको बारेमा आफूलाई फोन आएपछि बच्चालाई तुरुन्त अस्पताल लिएर आउन आग्रह गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बाल रोग विभाग प्रमुख एवम् वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले बताउनुभयो । गम्भीर अवस्थामा अस्पतालमा ल्याइएका बालकको कोभिड १९ एनसियु आइसोलेसनमा राखेर उपचार भइरहेको बास्तोलाले बताउनुभयो ।

समाचार स्रोत ः पोखरा न्यूज डट कम