कर्णाली नदीमा खसेको जिपका टुक्राटाक्री भेटिए तर हराएका दम्पत्ति भेटिएनन्

durghatana

साउन १६, कैलाली,

कैलालीको मोहन्याल गाउँपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जिपका टुक्राटाक्री भेटिएका छन् । तर, सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात छ ।

जिप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला नपरेको प्रहरीले जनाएको छ । एकै परिवारका ५ जना सवार बा११च ९३८ नम्बरको जिप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा शुक्रबार दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो ।

जिपमा सवार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका जोशी दम्पती बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको बताए ।