कास्कीका १९१ सहित देशभर थप ३ हजार ९ सय ३८ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशका ९ सहित थप ३७ जनाको ज्यान गयो

corona

साउन २१, कास्की,

बिहीबार गण्डकी प्रदेशका थप ६ सय १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २६२ जनामा गरिएको नमुना परीक्षणमा थप ६१६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १९१ जना, तनहुँका २३ जना, गोरखाका ८३ जना, लमजुङका १९ जना, नवलपुरका ७८ जना, स्याङ्गजाका ७२ जना, पर्वतका १३ जना, बागलुङका १०० जना र म्याग्दीका ३७ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७० हजार २६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६३ हजार २९१ पुगेको छ ।

बिहीबार गण्डकीमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना सहित नवलपुरका तीन जना तथा स्याङ्गजा,
मुस्ताङ, बागलुङ र गोरखाका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १११८ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार आठ सय ७० पीसीआर र ६ हजार पाँच सय ३८ एन्टिजेन गरी १८ हजार चार सय आठ नमुना परीक्षण गर्दा तीन हजार नौ सय ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कुल परीक्षणको २१ दशमलव ३९ प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ७३ हजार आठ सय ६० पुगेको छ ।

यस्तै थप दुई हजार १२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ । यही अवधिमा थप ३७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय ९४ पुगेको छ ।

नेपालमा अहिले ३४ हजार चार सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय १३ जनाको आईसीयू र एक सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।