आज जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन:आजै संस्कृति दिवस पनि

janai

भदौ ६, कास्की,

आज जनै पूर्णिमा मनाइदैछ । आजको दिन हिन्दु धर्मालम्बीहरुले स्नान गरी शुद्ध भई पूजाआजा गर्छन् । पुरुषहरुले जनै फेर्ने चलन छ । जनैपूर्णिमान धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन मानिन्छ ।

बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो ९६ सूते धागोलाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ ।

जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ ।

यस्तै आजै रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू–भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।

यस्तै आजै भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको “क्वाँटी” खाने प्रचलन पनि रहेको छ । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ “क्वाः” भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो। आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ। दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु–मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ ।

त्यस्तै आजै संस्कृति दिवस पनि हो । संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ ।

५००० वर्ष भन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पुर्णिमाको दिन मै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो ।