गण्डकी प्रदेश चेम्बर अफ कमर्सद्वारा विभिन्न अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

chember help

जेठ २५, पोखरा,

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पतालहरुलाई मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

कास्की पोखरा समाज जापानको व्यवस्थापनमा चेम्बरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशलाई १५, पोखरा महानगरपालिका वडा नम्बर २१ लाई ५, म्याग्दीलाई ५ गरी ५० थान सिलिण्डर हस्तान्तरण गरेको हो ।

चेम्बरले २० र समाजले ३० थान सिलिण्डर व्यवस्थापन गरेको कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष निरज थापाले जानकारी दिनुभयो ।

सिलिण्डर हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले प्राप्त सहयोगलाई व्यवस्थापकीय कौशलका साथ नागरिकको पक्षमा उपयोग गर्ने बताउनुभयो ।

साथै उहाँले होम आइसोलेशनका बिरामीलाई परामर्श लगायतका सेवा आवश्यक रहेको भन्दै निर्देशनालयले नर्सिङ कलेजका १ सय स्टाफ नर्स मार्फत होम आइसोलेसनका बिरामीलाई परामर्श दिने बताउनुभयो ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले प्रदेशका सबै जिल्लामा १ सय ४ अक्सिजन सिलिण्डर वितरण गरेको जानकारी दिँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग गरेर नागरिकको जीवन रक्षामा चेम्बर लागेको बताउनुभयो ।

चेम्बरको एक व्यवसायी एक अक्सिजन सिलिन्डर अभियान अन्तर्गत अध्यक्ष किसान सुनारले ४, सल्लाहकार माइकल कर्मचार्यले ५, महिला उद्यमी टिका गुरुङले ५ र अमृत न्यौपानेले १ थान सिलिण्डर प्रदान गर्नुभएको थियो ।