कोरोना नियन्त्रण हुन सक्छ : संक्रमण भैहालेपनि आत्तिनु हुँदैन

fight with corona

जेठ ३, पोखरा

अहिले सहर, बजारमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । सहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ ।

गाउँघरमा फैलिएको सङ्क्रमण कसरी रोकथाम गर्न सकिन्छ त ? डाक्टर विराज कर्माचार्य भन्नुहुन्छ, एक गाउँबाट अर्को गाउँमा हुने मानिसको ओहोरदोहोर बन्द गर्ने, एउटै गाउँका स्थानीयवासिन्दाले पनि एक आपसमा धेरै हेलमेल नगर्ने ।

यस्तै हरेक गाउँमा आइसोलेशन र क्वारेण्टीन बनाउने गरे पनि सङ्क्रमणको रोकथाम गर्न सकिन्छ ।

उहाँका अनुसार परिवारका एक सदस्यको परीक्षण गराउँदा पनि सङ्क्रमण फैलिएको दर पत्ता लगाउन सकिन्छ । सङ्क्रमण भइहाले पनि नआत्तिकन स्वास्थ्यको ख्याल गर्नुपर्ने उहाँ बताउनुहुन्छ । आत्मबल बलियो बनायो भने मात्रै पनि कोरोनालाई परास्त गर्न मद्यत पुग्ने उहाँको भनाई छ ।

सङ्क्रमण हुँदैमा ठूला–ठूला अस्पतालमा लैजानु पर्दछ भन्ने छैन । तर पाँच दिनभन्दा बढी समयसम्म ज्वरो आए प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा पनि उपचार गर्न सकिन्छ । अन्यत्रै रेफर गर्नुपर्ने खालका बिरामी भएमा भने सम्बन्धित पालिका र सरोकारवालाले एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेछ ।

यस्तै सङ्क्रमितको स्वास्थ्यबारे फोनमार्फत पनि नियमित निगरानी गर्न सकिन्छ । रगतमा अक्सिजनको मात्रा घटे÷नघटेको हेरेर आफन्तले बिरामीको ख्याल गर्नुपर्नेमा डाक्टरले जोड दिएका छन् ।