आगामी आर्थिम वर्षकालागि खेल क्षेत्रको बजेट बढ्यो, पर्याप्त नभएको राखेपका पूर्व सदस्य सचिवको भनाइ

khel

जेठ १८, कास्की,


कोरोना महामारीका बीच सरकारले अध्यादेशबाट आगामी २०७८÷७९ का लागि जारी गरेको बजेटमा खेल क्षेत्रतर्फ बजेट सामान्य वृद्धि भएको छ ।
सरकारले कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट सार्वजनिक गर्दा युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड रूपैयाँ बजेट विनियोजन भएको हो ।
अघिल्लो वर्षको तुलनामा खेलकुदको बजेटमा ३८ करोड रूपैयाँ वृद्धि हुँदा बजेटले विशेष गरी पूर्वाधार निमार्णमा जोड दिएको छ । कोरोना महामारीले थलिएको स्वास्थ्य क्षेत्रलाई बजेट केन्द्रित भएको अवस्थामा पनि खेलकुद क्षेत्रमा बजेट सामान्य वृद्धि भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गरेको बजेटले विशेषगरी पूर्वाधार निर्माणका लागि जोड दिएको छ ।
विश्वका धेरै राष्ट्रले हरेक वर्षको बजेटमा खेल क्षेत्रलाई वैज्ञानिक तरिकाबाट अगाडि बढाउन योजना बुन्ने गर्छन् । तर, नेपालमा भने कुनै प्रकोप या आर्थिक संकट हुँदा खेल क्षेत्रमा नै बजेट खुम्च्याइने गरिन्थ्यो । यद्यपि यस वर्ष भने सामान्य वृद्धि हुनु सकारात्मक भएपनि अझै पर्याप्त नभएको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशवकुमार विष्टले बताउनुभयो ।
विगतका बजेट भाषणमा नेपालको साहसिक खेललाई जोड दिइएको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै यस पटक पनि अर्थमन्त्री पौडेलले बजेटमा पर्यटकीय र साहसिक खेल प्रवद्र्धन गर्न सरकारले लगानी गर्ने आश्वासन दिनुभएको छ । पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन भएको सरकारी दाबी छ ।