नेपाल समूहका नेताहरुलाई माफी दिने एमाले अध्यक्ष ओलीको घोषणा

oli

साउन ७, काठमाण्डौ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज बिहीवार ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएका र भड्किएका सबै नेतालाई आममाफी दिने घोषणा गर्नुभएको हो । ‘भड्किएका साथीहरूलाई जे सुकै भएको होस्, आममाफी । आउनुहोस् मिलेर काम गरौँ’, ओलीले भन्नुभयो ।

पछिल्लो समय माधव नेपाल समूहका नेतामाथि आक्रोशित बन्दै आउनुभएका ओलीले आज एकाएक माफी दिने घोषणा गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।