बाढी–पहिरोमा परि अहिलेसम्म ८ जनाको मृत्यु, २० जना बेपत्ता (अपडेट)

baadhi

असार ३, पोखरा

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु भएको छ । देशका ५ जिल्लामा गरी बाढी तथा पहिरोमा परी बिहीबारसम्म ८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा कास्कीको १ जना सहित सिन्धुपाल्चोकमा ४ जना, पाल्पा, डोटी र सप्तरीमा एकएक जना रहेका छन् ।

यद्यपि गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रले भने देशका बाजुरा र गोरखामा पनि बाढीले बगाएर केही व्यक्तिको मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा ७ जना गरी २० जना अझै वेपत्ता छन् । वेपत्ता भएकामध्ये १५ जना पुरुष र ५ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ ।

बाढी पहिरोमा परी घाइते भएका सिन्धुपाल्चोकका ५ जना, डोटीका २ जना, कास्कीका १ जना, स्याङजाका १ जना र म्याग्दीमा ३ जना गरी जम्मा १२ जना घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ८३ जनाको उद्दार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका केही सडकहरु शुचारु गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । वर्षाको कारण सल्यान, बझाङ र दैलेख लगायतका स्थानका सडकमा गएको पहिरो हटाउने कार्य भने जारी रहेको प्रहरीको भनाइ छ ।

बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन् । ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जानकारी दिएको छ । ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४ सय ९२ वटा पशु चौपायको मृत्यु भएको छ । अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद्जन्य घटना भएको प्रहरीले जानकारी दिएको छ ।