सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

पोखरा, २७ कात्तिक ।

कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै गर्दै आएको बताएका छन् । सुकुम्बासी समस्यालाई समाधान गरि व्यवस्थित शहरीकरण गर्नका लागि नीतिगत रुपमै ‘स्मार्ट मुभ’ गर्न आवश्यक रहेको उनको भनाई छ ।

हाल चुनावी प्रचारको क्रममा मतदाताहरुको घरदैलोमा पुगिरहेका अरुण गिरी आईतबार पोखरा ९ नयाँबजार, पृथ्वीचोक, बसपार्क लगाएतका स्थानमा पुगेका थिए । आफ्नो निर्वाचन क्षेत्रको ६ वटै वडालाई समेट्ने गरि घोषणापत्र सार्वजनिक गरिसकेका गिरीले व्यवस्थित बसपार्क र सुकुम्बासी समस्यालाई पनि त्यसमा समेटेका छन् । घरदैलोको क्रममा गिरीले घोषणापत्रअनुसार नै आफू निर्वाचित भएपछि काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याए ।

गिरीले पोखराको मूख्य शहर क्षेत्रलाई मौलिक रुपमा व्यवस्थित गरि बुटिक सिटीको रुपमा विकास गर्ने आफ्नो परिकल्पना रहेको सुनाए । ‘यो क्षेत्रको व्यवस्थापन निकै गज्जबसँग गर्नुपर्ने देखिन्छ । शहरलाई सुन्दर अनि पर्यटकीय महत्वको बनाउनका लागि म सँग कार्ययोजनाको ब्लुप्रिन्ट नै छ ।’ गिरीले भने -‘सुकुम्बासीहरुको मागको उचित सम्बोधन गरि व्यवस्थित बसपार्क र शहरको परिकल्पनालाई साकार पार्नतर्फ लागिहाल्नुपर्ने बेला आएको छ ।’ केन्द्र, प्रदेश र स्थानीय सरकारले सँयुक्त रुपमा सुकुम्बासी समस्यालाई हल गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा गिरीको जोड थियो । नत्र भने मा सुकुम्बासी समस्या र बसपार्क व्यवस्थापनको सवाल हरेक चुनावमा ठुला भनेका राजनीतिक दलहरुले फगत राजनीति गर्ने एउटा वहाना मात्र हुने गिरीले बताए ।

त्यस्तै अर्को सन्दर्भमा गिरीले सेती नदी दोहनलाई रोक्नुपर्ने बताए । उनले सेती नदीसँगै तटीय क्षेत्रको विकासका लागि ठुलो धार्मिक आस्थाको परियोजना संचालन गर्न सके त्यस क्षेत्रको स्तरोन्नी गर्न सकिने बताए । विभिन्न समुदाय र धर्मका मानिसहरुको आस्थासँग सेती नदीको विरासत जोडिएकोले आफूले त्यस क्षेत्रलाई धार्मिक हिसाबले नै विकास गर्न पहल गर्ने गिरीले बताए ।

घरदैलोको क्रममा गिरीलाई स्थानीय मतदाताहरुले ठुलो समर्थन देखाएका थिए । फरक र विशेष सोँचसहित सबैको साझा मुद्दालाई समाधान गर्ने सोँचसहित चुनावमा होमिएको गिरी जस्तो युवा अहिलेको आवश्यक भएको मतदाताहरुले बताएका थिए । साथै यो पटकको चुनावमा पोखराले पनि उदाहरण बनेर देखाउने भन्दै समस्यामा राजनीति गर्ने ठुला दलहरुको शैलीप्रति उनीहरुले चित्त दुखाएका थिए ।