सरकारको ढिलासुस्तिप्रति सत्ता साझेदार नै असन्तुष्ट

Prachanda

साउन २४, काठमाण्डौ,

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नै सरकारको ढिलासुस्तिप्रति असन्तुष्टि जनाएको छ ।

माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

अध्यक्ष दाहालले आज (आइतवार) बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणाअनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

अध्यक्ष दाहालले त्यस क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घच्घच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट पनि त्यस क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने बताउँदै त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र सङ्घलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।