
जेठ २०, पोखरा,
गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना क्षीण, नयाँ सरकार बन्ने ढोका खुल्दै
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसदबाट हटाएसँगै संसद्को अंकगणित गुरुङको पक्षमा नदेखिएको हो । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापाको सांसद पद खारेज गरेको हो ।
संसद्मा बहुमत पु¥याउने संख्या परिवर्तन हुँदा विपक्षमा मत बढी खस्ने देखिएको छ । गुरुङ संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री कायम छन् । वैशाख २९ मा उनले ठूलो दलको आधारमा मुख्यमन्त्रीमा पुनः शपथ लिएका हुन् । बहुमतको सरकार बनाउने आधार विपक्ष दलको नभएसँगै ठूलो दलका आधारमा उनी मुख्यमन्त्री बनेका थिए ।
राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा विपक्षी गठबन्धनको पक्षमा नदेखिएपछि गुरुङलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । वैशाख २९ मा ठूलो दलका आधारमा मुख्यमन्त्री बनेका गुरुङले जेठ २९ अघि विश्वासको मत लिनुपर्नेछ ।
प्रदेश सभामा एमालेका २७ सांसद छन् । कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जनता समाजवादीका दुई र जनमोर्चाका दुई (थापालाई कारबाही पछि) र स्वतन्त्र एक सांसद छन् ।
६० प्रदेश सभा सदस्यबाट १ सांसद घटेसँगै कुल सांसद संख्या ५९ पुगेको छ । अब विश्वासको मतका लागि गुरुङले ३० मत ल्याउनुपर्दछ । उनको पक्षमा एमालेका २७ र स्वतन्त्र एक सांसदको मात्रै मत आउने देखिन्छ । विश्वासको मत पुग्ने आधार नभएपनि गुरुङले संसद् फेस गर्ने बताइएको छ ।
यसअघि विपक्षी दलको पक्षमा बहुमत पु¥याउन ३१ जना नपुग्दा नयाँ सरकार बन्न सकेको थिएन । थापा कारबाहीमा पर्दा बहुमत पुग्ने संख्या ३० मा झरेको छ । विपक्षी दलसँग ३० सांसद छन् ।
गुरुङले विश्वासको मत नपाए वैकल्पिक सरकार बनाउनका लागि संविधानको धारा १६८ को उपधारा ५ आकर्षित हुन्छ । त्यसअनुसार संसद्को कुनै सदस्यले विश्वासको मत प्राप्त गर्नसक्ने आधार भएमा प्रदेश प्रमुखले मुख्यमन्त्री बनाउने व्यवस्था छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका विपक्षी दलले उनलाई समर्थन रहेको दाबी पेश गर्ने बाटो फेरि खुल्नेछ ।