नयाँ अध्यादेश बारे विभिन्न नेताको प्रतिक्रिया

ddd

भदौ १, काठमाण्डौ,

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णयको आलोचना गर्नुभएको छ ।

दल विभाजन गर्न सजिलो हुने प्रावधानसहितको अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयलगत्तै सामाजिक सञ्जालमा डा. कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने प्रष्ट गर्नुभएको हो ।

प्रधानमन्त्रीबाट गम्भीर चूक भएको भन्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कांग्रेसको संस्कार नभएको पनि प्रष्ट गर्नुभएको छ ।
यस्तै
कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले ल्याउन लागेको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नुभएको छ ।

आज मङ्गलवार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेखेर नेता पौडेलले हिजो केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश ल्याउँदा प्रतिपक्षमा रहेको कांग्रेसले त्यसको डटेर प्रतिकार गरेको उहाँले बताउनुभएको छ । आज फेरि संसद् अधिवेशन गरेर ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक नभएको नेता पौडेलले बताउनुभएको छ ।
यता
नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर सचिव विष्टले सरकारले ल्याउन लागेको अध्यादेशलाई फिर्ता लिन बाध्य पार्न अपिल पनि गर्नुभएको छ । नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको भन्दै यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने उल्लेख गर्नुभएको छ ।

दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने कामले राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने विष्टले बताउनुभएको छ ।