कास्किका ८ सय ५६ सहित देशभर थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

corona

बैशाख २४, पोखरा,

पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । हिजो ९ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय ७९ पुगेको छ ।
यसैबिच
कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा शुक्रबार एकैदिन ७ जनाको मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी गरेको आजको पछिल्लो विज्ञप्ति अनुसार विहानदेखि यो समाचार तयार पार्दा सम्म थप ७ जनाको मृत्यु पुष्टि भएको हो । आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कास्कीमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आजको विज्ञप्ती अनुसार कास्कीमा थप ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशका अन्य जिल्लासहित अहिलेसम्म २२ हजार २ सय ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।