‘ताउ ते’ चक्रवातका कारण भारतमा लाखौँ विस्थापित, नेपालको मौसम पनि प्रभावित हुँदै

chakrawaat

जेठ ४, पोखरा,


अरब सागरमा विकसित शक्तिशाली चक्रवात ‘ताउ ते’ले भारतको जनजीवन अस्तव्यस्त बनाएको छ ।
तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने डेढ लाखभन्दा बढी विस्थापित भएको भारतीय समाचारहरुमा उल्लेख छ ।
चक्रवातबाट सबैभन्दा प्रभाव मुम्बईमा परेको छ । चक्रवातमा फसेकाहरुको नौ सेनाको जहाजमार्फत उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बईमा ११४ किलोमिटरको गतिमा प्रतिघण्टा हुरी चलेको थियो । चक्रवातका कारण मुम्बई, थाणे, रायगढलगायत क्षेत्रको जनजीवन प्रभावित भएको छ । त्यहाँ कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।
हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएको समाचारहरुमा उल्लेख छ ।
यो चक्रवात गएराति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा आइपुगेको छ । गुजरातका तटीय क्षेत्रका डेढ लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ ।
यसैबिच अरब सागरमा विकसित भएको ‘ताउ ते’ चक्रवातको असर नेपालमासमेत देखिएको छ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन सक्रिय भएकाले सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।
अरब सागरमा देखिएको चक्रवातका कारण नेपालको मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने मौसमविदको भनाइ छ । शुक्रबारसम्म चक्रवातको असर नेपालको मौसममा देखिने र शनिबारदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले दाबी गरेको छ ।
महाशाखाका अनुसार मंगलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने धेरै हुनेछ । बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोे छ । गण्डकी, लुम्बिनी र कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको दाबी छ ।