गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

गण्डकी-प्रदेशसभामा

बैशाख २७, पोखरा,


गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गर्नुभएको हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध ल्याइएको अविश्वास प्रस्ताव माथि छलफल गर्न बोलाइएको प्रदेश सभाको विशेष अधिवेशन चलिरहँदा मुख्यमन्त्री गुरुङले पदबाट राजिनामा दिएसँगै अधिवेशनको औचित्य समाप्त भएको थियो ।
अधिवेशन अन्त्य भएको जानकारी पत्र प्रदेश सभा सचिवालयलाई पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री गुरुङले आफूबिरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन पदबाट राजिनामा दिनुभएको थियो । उहाले आफू अल्पमतमा पर्ने देखेपछि संसद छल्नलाई पदबाट राजिनामा दिनुभएको हो ।
अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुख बाहेक) र जसपाका २ सांसदले हस्ताक्षर गरेका थिए । अविश्वास प्रस्तावमा ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरेपनि मतदान गर्ने बताएको थियो । जसका कारण ६० सदस्य रहेको प्रदेश सभामा ३१ सांसद पुगेपछि अविश्वास प्रस्ताव पारित हुने देखेरै मुख्यमन्त्रीले पदबाट राजिनामा दिनुभयो ।
सत्तारुढ एमालेसँग भने आफ्ना २७ सांसद छन् भने स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेको समर्थन रहेको छ । मुख्यमन्त्री गुरुङको राजिनामासँगै नयाँ सरकार बनाउन प्रदेश प्रमुख सीता पौडेलले आह्वान गर्नुभएको छ । उहाले ३ दिन भित्र बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि निवेदन दिन आह्वान गर्नुभएको हो ।