प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमाले नेता नेपालको प्रतिबद्धता

Deuba_Nepal_meeting

असार ३१, काठमाण्डौ,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा प्रधानमन्त्री भएको भोलिपल्टै बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका नेता नेपाललाई भेट्न उहाकै निवास कोटेश्वरमा पुग्नुभएको थियो ।
भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो समूहका सांसदहरुले विश्वासको मत दिने आश्वासन दिनुभएको नेपाल निकट स्रोतले बताएको छ ।
नेता नेपालले आफ्नो समूहका नेताहरुलाई सुनाएअनुसार प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव दिनुभएको थियो ।
देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए । तर देउवा र केपी शर्मा ओली दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग भएपछि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालत गएका १४६ सांसदमा नेपाल समूहका २३ जना सांसद रहेका थिए ।
त्यही मुद्दामा सोमबार फैसला सुनाएको सर्वोच्चले संसद पुनस्र्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो । साथै ७६(५)को प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा हृवीप नलाग्ने र दल त्यागसम्बन्धी कारबाही नहुने पनि फैसला गरेको छ ।
फैसलाअनुसार २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदको समर्थन पाएका देउवालाई विश्वासको मत पाउन एमाले वा जसपाको महन्थ ठाकुर पक्षको मत चाहिन्छ । यदि देउवाले विश्वासको मत नपाएमा भने संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन भएर मध्यावधि चुनाव घोषणा हुन्छ ।