गण्डकीका १ हजार ३ सय ७२ जनासँगै देशभर ७ हजारभन्दा धेरै कोरोनामुक्त

update

जेठ १९, पोखरा,

बुधबार नेपालमा सात हजार दुई सय १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।
अहिले नेपालमा एक लाख एक हजार नौ सय ९३ सक्रिय सङ्क्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार आठ सय पाँच जनाको पीसीआर परीक्षण गर्दा चार हजार पाँच सय २४ जना र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षणमध्ये ३२ दशमलव सात प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५८ दशमलव २६ प्रतिशत नमुनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तथा यसअघिका विवरणसहित गरी एक सय एक जनाको ज्यान कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सात हजार पाँच सय ५५ पुगेको छ ।
यसैबिच
बुधबार गण्डकीका थप ८३८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका २ हजार २४६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो । बुधबार थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४३ हजार ८३५ पुगेको छ ।

पछिल्लो समय गण्डकीबाट १३७२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार २५१ पुगेको छ । त्यस्तै बुधबार गण्डकीमा थप १३ जनाको मृत्यु भएको छ ।

थप मृत्यु हुनेमा कास्कीका चार जना, तनहुँका दुई जना, स्याङ्गजाका तीन जना, गोरखाका दुई जना र लमजुङका दुई जना रहेका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७०७ पुगेको निर्देशनालयले जनाएको छ ।