पोखरामा विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको नागको आज अनावरण गरिँदै

IMG_8023

साउन २९, कास्की,

पोखरा महानगरपालिका–१७ स्थित म्यूजियम मार्गमा स्थापना गरिएको नाग मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न सङ्घ संस्था, उद्योगी व्यवसायीको सामूहिक प्रयासबाट निर्माण गरिएको नागथानमा पाँच शिर भएका नागले शिवलिङ्गलाई वेरिएको नागमूर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको हो ।

शिवको महिना साउनको चौथो सोमबारदेखि प्रत्येक दिन बिहान सोडसोपचार विधिबाट पूजा आरधना एवं साझ धुप आरतीसहित शिलामा नाग भगवान्लाई आह्वान गरिएको पूजा व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नागपञ्चमीका अवसरमा भागवत भाष्कर पण्डित कमलनयन गौतमबाट प्रणाप्रतिष्ठा गरिएको नागमूर्तिको आज (शुक्रबार) बिहान अनावरण गर्ने कार्यक्रम रहेको छ । अनावरण कार्यक्रमपश्चात स्थानीयले आफ्ना घर घरको मूल ढोकामा विधिपूर्वक नाग टास्ने कार्यक्रम रहेको समितिका उपाध्यक्ष एकनारायण अर्यालले जानकारी दिनुभयो ।