कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्छ : डब्ल्यूएचओ

who

साउन १, एजेन्सी,

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ ।

कोरोनाको सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन पनि डब्ल्यूएचओको आग्रह छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिनु त परको कुरा महामारी नजिक समेत नपुगेको स्पष्ट पार्नु भएको छ ।

विश्वमा अहिले १८ करोड ९६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ४० लाख ८२ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोना विरुद्धको खोप लगाए, बेलाबेलामा साबुन पानीले हात धोए, मास्कको अनिवार्य प्रयोग गरे र भौतिक दूरी कायम गरे मात्रै सङ्क्रमणबाट बच्न सकिने विज्ञले बताएका छन् ।