प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने,कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने

oli

बैशाख २६, काठमाण्डौ,

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका सांसदले पनि संसदमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठकले स्वास्थ्य अनुकूल भएर संसद् सचिवालयमा उपस्थित हुन सक्ने सांसदलाई मतदानमा भाग लिन दिने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएका सांसदलाई मतदानका लागि छुट्टै कोठाको व्यवस्था गर्नेसमेत उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रका सांसदलाई प्रतिपक्षको रूपमा बसाइ व्यवस्था गर्ने पनि प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

कोरोना महामारीको सङ्कटलाई ध्यान दिएर प्रधानमन्त्रीले लिने अविश्वासको प्रस्तावबारेका सबै प्रक्रिया टुङ्ग्याएर भोलि नै विशेष अधिवेशन सक्ने पनि निर्णय भएको उहाँले बताउनुभयो ।
यसैबिच
नेकपा एमाले संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईले प्रधानमन्त्रीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्नुभएको छ । एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ह्वीप जारी गरिएको हो ।