कोरोना भाइरस उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

who

साउन १, काठमाण्डौ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस उत्पत्तिबारेको अनुसन्धानका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।
भाइरसको उत्पत्तिबारेमा डब्ल्यूएचओले वुहानमै पुगेर गरेको पहिलो चरणको अनुसन्धान गएको फेब्रुअरीमा सकिएको थियो । त्यस बेला भाइरस प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त कम रहेको भन्दै चमेरामा उत्पत्ति भएर अन्य जीव हुँदै मानिसमा सरेको हुन सक्ने निष्कर्ष निकालेको थियो । तर अमेरिका, बेलायतलगायतका देशले भाइरस जीवबाटै आएको वा प्रयोगशालाबाट चुहिएको भन्नेबारेमा थप अनुसन्धान आवश्यक रहेको बताइरहेका छन् ।
डब्ल्यूएचओका प्रमुख गेहब्रेयससले पनि आफू स्वास्थ्यकर्मी भएको र दुर्घटना हुन सक्ने सम्भावनाबारे थाहा भएको भन्दै वुहानको प्रयोगशालाबाट स्पष्ट सूचना चाहिएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले आफूहरूलाई महामारी सुरु हुनुभन्दा अगाडिको र सुरु भएको बेलाको बिरामीहरूको अप्रशोधित तथ्याङ्क चाहिएको पनि बताउनुभयो । अघिल्लो अनुसन्धानमा चीनले विश्व स्वास्थ्य सङ्गठनको टोलीलाई त्यो तथ्याङ्क दिएको थिएन ।