सरकारको प्राथमिकता प्रष्टिएपछि मात्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने

maudrik niti

साउन २०, काठमाण्डौ,

नेपाल राष्ट्र बैंकले सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने अवस्था रहेको प्रष्टयाउनुभएको हो ।


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले मौद्रिक नीतिको तयारी भने लगभग पूरा भएको पनि बताउनुभयो । तर सरकार परिवर्तन भएकाले नयाँ सरकारको योजना र प्राथमिकता हेरेर मात्रै त्यसलाई अन्तिम रूप दिन सकिने उहाँको तर्क छ ।

नेपाल राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिले पनि कोरोना प्रभावित क्षेत्र र व्यवसायीहरूलाई सहुलियत दिने कामलाई निरन्तरता दिने अवस्था रहेको जनाएको छ ।