१० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च

bajet

जेठ १, कास्की,

सरकारले कोरोना महामारीको बीचमा पनि विकास निर्माण तीव्र भइरहेको दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै कम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जस्तो विकास इतिहासमा नभएको जिकिर गर्दै आउनुभएको छ तर चालू आर्थिक वर्षको १० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार बैशाख मसान्तसम्म जम्मा १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ अर्थात ३५ दशमलव ६४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

यो आर्थिक वर्षको लागि तीन खर्ब ५२ अर्ब रुपैयाँ विकास बजेट छुट्याएको सरकारले अर्धवार्षिक समिक्षामार्फत दुई खर्ब ८३ अर्बमा झारेको थियो । १० महिनामा जम्मा ३५ प्रतिशत मात्रै विकास खर्च हुनुले नेपालको पूर्वाधार निर्माण सुस्त रहेको प्रमाणित गरेको अर्थविद्हरुले टिप्पणी गरेका छन् ।

यस्तै चालू तर्फ ६ खर्ब ३० अर्ब रुपैयाँ अर्थात ६६ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यो आर्थिक वर्षको लागि सरकारले नौ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समिक्षामार्फत नौ खर्ब १४ अर्बमा झारेको थियो । यस्तै वित्तीय व्यवस्थातर्फ ६८ अर्ब ७२ करोड रुपैयाँ अर्थात ३९ दशमलव ७७ प्रतिशत खर्च भएको छ ।

समग्रमा १० महिनामा ५५ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको छ । यस्तै यो वर्ष १० खर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा १० महिनामा सात खर्ब ६१ अर्ब रुपैयाँ अर्थात ७५ दशमलव २२ प्रतिशत संकलन भएको छ ।