विकल्प नदिई स्थगित भएको परिक्षाका कारण विद्यार्थी अन्योलमा

bord

साउन २४, काठमाण्डौ,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरे पनि विकल्प नदिएपछि विद्यार्थीमा अन्योल बढेको छ । विकल्प नदिएपछि झण्डै ४ लाख विद्यार्थी अलमलमा परेका छन् ।

बोर्डले हिजो कक्षा १२ को परीक्षा स्थगित गरी १५ दिन अगाडि परीक्षाको सूचना निकाल्ने जनाएको छ । परीक्षा स्थगित हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी विकल्पसहित आवश्यक निर्णय गर्ने बताउनुभएको थियो । तर विकल्प नदिएर परीक्षा स्थगित गर्दा अलमल भएको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् ।

विद्यार्थीलाई विकल्प दिनुपर्नेमा शिक्षाविद्को पनि जोड छ । शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थीलाई अलमलमा राख्न नहुने र त्यसका लागि विद्यालय र सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेठमा हुनुपर्ने परीक्षा दुई महिना ढिला भइसकेको अवस्थामा अब विकल्प दिन ढिला गर्न नहुने बताउनुभयो ।

कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु गर्नेगरी यसअघि तालिका सार्वजनिक भएको थियो । गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि बोर्डले कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित गरेको थियो ।
यसैबिच
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् ।

एसईईको नतिजा सार्वजनिक भएपछि अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताए ।

उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताए । विद्यार्थीमा पढे पनि पास र नपढे पनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनको भनाई छ ।

उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने भन्दै आन्तरिक मुल्यांकनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने साथै यसले देशको शिक्षा प्रणाली र मुलुकको विकास प्रक्रियामा गम्भीर असर पार्ने बताए ।