लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा : प्रदेश प्रमुखद्धारा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान

shankar_pokharel_lumbini

साउन २७, रुपन्देही,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । आज (बुधबार) दिउँसो प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो ।

पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले अविश्वासको प्रस्तावको छिनोफानो गर्न बुधबार (आज)का लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । पोखरेलले अधिवेशन सुरु हुनु अगाडि नै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
यसैबिच
मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमाथिको जवाफ दिने भनिएको लुम्बिनीको प्रदेश सभा बैठक दुई मिनेटमै सकिएको छ । मुख्यमन्त्रीको राजीनामा सम्बन्धनमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र वाचन गर्दै सभामुख पूर्णबहादुर घर्तीले बैठक अन्त्य गर्नुभएको हो ।
यस्तै
प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो ।