जेठ १, पोखरा
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा गण्डकी प्रदेशबाट ५९ हजार २४१ जना बेरोजगार यूवा सूचिकृत भएकोमा ६ हजार २ सय ५३ जनाले मात्र औसत १८ दिनको रोजगारी पाएको देखिएको छ ।
चालु आवको हालसम्मको विवरण हेर्दा गण्डकी प्रदेशमा उक्त रोजगारी पाएका श्रमिकले कुल १ लाख १५ हजार दिन काम गरेको देखिन्छ । चालु आवमा गण्डकीबाट १ हजार १२ वटा आयोजनाहरु समावेश थिए । मन्त्रालयले प्रदान गरेको बजेटबाट श्रमिकलाई ३ करोड ९५ लाख रुपैयाँ ज्याला रकम वितरण गरेको देखिएको छ ।
बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट सरकारले २ लाख बेरोजगार युवालाई १०० दिनको रोजगारी प्रदान गर्ने लक्ष्य लिएको थियो ।
मन्त्रालयले आगामी वर्ष २०७८÷७९ को बजेटको गृहकार्य गरिरहँदा चालु आ.व.को कार्यक्रममा भने लक्ष्यअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
यद्यपी, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले सरकारले बजेट विनियोजन गरिसकेको अवस्थामा पनि लक्ष अनुसार काम गर्न नसकिएको मन्त्रालयको निष्कर्ष रहेको छ ।