सडक प्रदर्शनमा रोक लगाउन देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन,पोखरामा प्रदर्शन गर्ने विद्यार्थिलाई प्रहरीले लखेट्यो

griha mantralaya

जेठ ८, पोखरा,

प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई कडा निर्देशन दिएको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए ।

बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ ।

यसैबिच

प्रतिनिधी सभा विघटन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा राँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका नेताहरु लखेटिएका छन् । पोखरा महानगरपालिका अगाडी नेविसंघ केन्द्रीय नेता भानु ढकाल, सरोज केसी , जिल्ला नेता विकास थापा लगायत सात जनाले रांके जुलुस निकालेपछि प्रहरीले उनिहरुलाई लखेटेको हो ।

न्युरोडमा राँके जुलुस निकालेका विद्यार्थीहरुलाई हस्तक्षेप गर्नका लागि सुरुमा तीन जना प्रहरीले गरेको प्रयास असफल भएपछि थप करिब १५ जना प्रहरी परिचालन गरि उनिहरुलाई लखेटिएको प्रहरीले बताएको छ । राँको सहित प्रर्दशनमा उत्रिएकाहरुलाई प्रहरीले धरपकड गरेपछि प्रदर्शनकारिहरु न्युरोडका विभिन्न गल्लीहरुमा छिरेर भागेका थिए । कोरोना संक्रमणबढेपछि कास्कीमा आउँदो जेठ १४ गतेसम्मकोलागि निषेधाज्ञा जारी रहेको छ ।