’गफाडी’ नबन्न सरकारलाई सांसदहरुको सुझाव

Gagan-thapa1

साउन १२, काठमाण्डौ,

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको परीक्षा सुरु भइसकेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले अघिल्लो सरकार जस्तो बालुवाटारबाट बादर्लीमा सीमित हुने गरी विकृत काम गर्न नहुने बताउनुभएको हो ।

सांसद थापाले संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञानलाई नपत्याउने, पालिका र प्रदेश सरकारलाई पङ्गु बनाउने, नजिकका मान्छेलाई मात्रै पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने जस्ता गलत कर्मका कारण केपी शर्मा ओली नेतृत्वको सरकार बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताउनुभयो । उहाँले यो सरकारले संसदको सम्मान गर्दै संसदको निर्देशन अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले एउटा गफाडी सरकार हटाएर अर्को गफाडी सरकार ल्याएको आभास हुन थालेको भन्दै गफ कम र काम धेरै गर्न सुझाव दिनुभएको छ ।

कर्णालीमा पैसा तिरेर बिजुली बाल्छु भन्दा पनि बिजुली नपाउने तर काठमाण्डौमा बसेर ऊर्जा मन्त्रीले निःशुल्क बिजुली दिन्छु भनेकोमा उहाँले आपत्ति जनाउनुभयो ।