मेयर जिसीको उपचारका लागि महानगरले १० लाख दिने : जिसीको स्वास्थ्य लाभको कामना गर्दै वडाध्यक्षहरुद्धारा पुजाआराधना

man-bahadur-gc

साउन ५, कास्की,

मस्तिष्कघात भएपछि उपचाररत कास्कीको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपचारको लागि महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

हाल अस्पतालमै रहनुभएका मेयर जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको हो ।

महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षता बसेको कार्यपालिकाको ५१ औँ बैठकले प्रकोप व्यवस्थापन कोषबाट छुट्याएर सो आर्थिक सहयोग दिने निर्णय भएको विज्ञप्तिमा जनाईएको छ ।
यसैबिच, मेयर जिसीको स्वास्थ्य लाभको कामना गर्दै पोखरामहानगरपालिका भित्रका वडाध्यक्षहरुले पुजाआराधना गरेका छन् । मंगलबार वडा नं ३, ११, २० र २४ का वडाध्यक्षहरुले नदिपुर स्थित नारायणस्थान मन्दिरमा पुजा आराधना गरेका हुन् ।

पोखरामहानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजुले प्रचारबाजिकालागि भन्दा पनि आत्म सन्ुष्टिकोलागि पुजा गरिएको बताउनुभएको छ ।

महामृत्युञ्जय पुजामा सहभागि भएपछि ११ का वडाध्यक्ष मोहन प्रसाद बास्तोला, २० का वडाअध्यक्ष सीम गुरुङ, २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदी लगायतले पोखराको स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने औँल्याएका छन् ।

मस्तिघातको उपचार गर्ने चिकित्सक र प्राविधिकहरुको अभाव भएकोले मेयर जिसिलाई हेलिकप्टर मार्फत काठमाण्डौ लानुपर्ने परिस्थिति भएको भन्दै यसको समाधानकालागि महानगरले विषेश पहल गर्नुपर्नेमा वडाध्यक्षहरुले जोड दिएका छन् ।

आम सर्वसाधारणले हेलिकप्टर नै चार्टड गर्ने अवस्था नहुने भन्दै पोखरामा नै दक्ष चिकित्सकहरु मार्फत मस्तिघात जस्ता रोगहरुको पनि उपचार सहज ढंगले हुनुपर्ने उनिहरुको एउटै आवाज रहेको थियो ।

मेयर जिसीलाई मस्तिस्कघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारी स्थित न्यूरो अस्पतालमा लगिएको छ । उहाँको शल्यक्रिया समेत भइसकेको छ भने अवस्था सुधारन्मुख रहेको बताईएको छ ।