प्रधानमन्त्री ओलीको शपथ बदर गर्न माग गरिएको रिटमाथि भोलि सुनुवाइ हुने

oli sapath

जेठ ३, काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरेर दोस्रो पटक शपथ ग्रहण गराउन माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटमाथि भोलि मङ्गलवार सुनुवाइ हुने भएको छ ।

ठूलो दलको हैसियतमा यही वैशाख ३१ गते शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भन्नुभएका थियो । ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेकाले ३१ गतेको शपथ बदर गरेर अर्को पटक शपथ लिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सोमवार (आज) सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।

यो रिटमाथि सर्वोच्च अदालतले भोलिका लागि पेसी तोकेको छ । रिटमा प्रधानमन्त्री ओलीले वैशाख ३१ गते लिएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रो पटक शपथ ग्रहण गर्नू र गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश माग गरिएको छ ।

राष्ट्रपतिले शपथ गराउँदा सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भने पनि प्रधानमन्त्रीले ’त्यो पर्दैन’ भनेर टारिदिनुभएको थियो । यसबाट राष्ट्रपति भण्डारी र र राष्ट्रपति संस्थाकै अपमान भएको रिटमा उल्लेख छ ।