पोखराका २५ सय पर्यटन व्यवसायिलाई कोरोना विरुद्धको खोप

khop1

साउन २८, कास्की,

पोखराको पर्यटन क्षेत्रकामा कार्यरतलाई आज (बिहिबार) देखि कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तथा खोप कार्यक्रमका संयोजक पोमनारायण श्रेष्ठका अनुुसार अहिले पोखराका पर्यटन व्यवसायिका लागि मात्र भनेर २५ सय भेरोसेल खोप उपलब्ध भएको छ ।

कोरोना भाईरस संक्रमणको मार खेप्दै आएको पर्यटन क्षेत्र बल्ल खोपमा पहुँच पु¥याउन सफल भएको हो । खोप बिना पर्यटन क्षेत्र खुलाउन नसकिने बताउँदै आएको पोखराको पर्यटन क्षेत्रका लागि आज पहिलो खेपको केहीमात्रा भएपनि खोप उपलब्ध भएपछि पर्यटन क्षेत्र सुरक्षित हुने व्यवसायीको अपेक्षा रहेको छ ।

पर्यटन क्षेत्रमा खोप माग गर्दै व्यवसायीले कहिले प्रदेश सरकार त कहिले स्थानीय प्रशासनमा दवाव दिँदै आएका थिए ।

पहिलो खेपमा २५ सय व्यक्तिका लागि खोप पाएको साथै थप खोप भित्रिएपछि दोश्रो खेपमा अरु पनि उपलब्ध गराउने प्रदेश सरकारले वाचा गरेको श्रेष्ठले बताउनुभएको छ । पर्यटन व्यवसायी र कार्यरत मजदुरलाई विहीबार पोखराका विभिन्न पाँचवटा खोप केन्द्रबाट खोप दिइएको थियो । पहिलो आउनेलाई प्राथमिकताका आधारमा खोप दिइएको उहाँले बताउनुभयो ।

पर्यटन बोर्ड पोखराका निर्देशक काशिराज भण्डारीले व्यवसायीले ठुलो दवाव दिएरै कोरोना विरुद्धको केही खोप हात पारेकोले अब पर्यटन क्षेत्रमा केही राहत मिल्ने बताउनुभएको छ । काठमाडौं र चितवनका पर्यटन व्यवसायीले यसअघि नै खोप लगाएकोमा पोखरा भने पछाडि परेको थियो ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले पर्यटन व्यवसायीका लागि खोप लगाउने कामको सुरुवात मात्र भएकोले आगामि दिनमा थप खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ । खोप नपाएको कारणले कोही पनि निराश हुनु नपर्ने उहाँको भनाई छ ।