चीनले विभिन्न देशलाई झण्डै दुई अर्ब डोज खोप सहयोग गर्ने

gg

साउन २२, एजेन्सी,

चीनले कोरोना विरुद्धको खोपको झण्डै दुई अर्ब डोज सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले खोपको आवश्यक परेका विश्वका विभिन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कोभिड १९ भ्याक्सिन सहयोग मञ्चलाई पत्र लेख्दै खोप सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको हो । चीनले अहिलेसम्म विभिन्न देशलाई दुई करोड ४२ लाख डोज खोप सहयोग गरिसकेको पनि जनाएको छ ।

यसैबीच केही समय अघि खोप आपूर्ति गर्न नसकेका देशलाई अमेरिका र बेलायतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता अनुसार यी देशले खोप वितरण थालिसकेका छन् । डेल्टा भेरियन्टका कारण पछिल्लो समय कोरोनाको संक्रमण फेरि बढे पछि खोपको माग पनि विश्वमा बढ्दै गएको छ ।

विश्वका एक सय ३५ देशमा डेल्टा भेरियन्ट फैलिएको पाइएको छ । सबैभन्दा धेरै अमेरिका र ब्राजिलमा संक्रमण बढेको छ । अमेरिकामा फेरि दैनिक एक लाखको हाराहारीमा संक्रमित भेटिन थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।