जसपा विवाद : निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा : यादव पक्षले भोलि दलको नेता चयन गर्ने

jasapa

साउन १५, काठमाण्डौ,

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत जानुभएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर उक्त निर्णयविरुद्ध सर्वोच्च जानुभएको हो ।

निर्वाचन आयोगको निर्णयबाट आफू र पार्टीका सम्पूर्ण कार्यकर्ता अन्यायमा परेको उहाँको भनाइ छ । निर्वाचन आयोगले साउन ११ मा जसपाको आधिकारिकताका लागि ‘हेड काउन्ट’का लागि कार्यकारिणी सदस्यलाई बोलाएको थियो । ‘हेड काउन्ट’ रोक्नसमेत माग गर्दै ठाकुर साउन ८ गते सर्वोच्च जानुभएको थियो । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
यसैबिच
जसपाले शनिबार दलको नेता चयन गर्ने भएको छ । नेता चयन गर्न भोलि बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने जसपाका नेता महेन्द्र राय यादवले बताउनुभयो ।

निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो । जसपा एक भए पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता रहनुभएको थियो ।