गण्डकीका थप १४ सहित १ सय ८७ जनाको संक्रमणबाट मृत्यु, एकैदिन ५४ सय भन्दा धेरैले कोरोनालाई जिते

corona update

जेठ १, पोखरा,

पछिल्लो समय देशभर १ सय ८७ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टी भएको छ । यो सँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै शनिबार एकैदिन देशभरबाट ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै देशभरबाट कोभिड मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १ सय ४६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । देशभर अहिले १ लाख ९ हजार ७ सय ४० सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्य ६ सय ७५ जना आइसोलेसनमा र १ हजार ३ सय ३१ जना आईसीयूमा रहेका छन् भने ३ सय ७० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले बताएको छ ।
यसैबिच
गण्डकी प्रदेशमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका ६ जना सहित स्याङ्गजाका २, म्याग्दी, तनहुँ र गोरखाका एक,एक जना र पर्वत जिल्लाका तीन जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ५५ पुगेको छ ।

यस्तै पछिल्लो समय प्रदेशमा थप ७ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३ सय ४२ जनाको नमुना परीक्षण गर्दा ७ सय ७० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

थप भएका संक्रमितहरुमा कास्कीका १ सय ६८ सहित म्याग्दी जिल्लाका २ सय ३०, नवलपुरका १ सय ४७, बाग्लुङका ७९, तनहुँका ५८, गोरखाका ४९, स्याङ्गजाका २१ र पर्वतका १८ जना रहेका छन् । पछिल्लो समय ३ सय जना कोरोना मुक्त भएसँगै प्रदेशमा ७ हजार ७ सय १५ सक्रिय संक्रमित रहेका छन् ।