गण्डकी प्रदेशका ३ सय ३३ जना सहित देशभर थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टी

corona update

असार ३, पोखरा,


नेपालमा फेरि कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या घटेको छ । केही समयदेखि नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको थियो । तर, पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या कम रहेको छ ।

बिहीबार गण्डकी प्रदेशमा थप ३ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३४ जनामा गरिएको नमुना परीक्षणमा थप ३३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय १९ जना सहित लमजुङका ७७, बागलुङका ५२, नवलपुर र स्याङ्गजाका २५–२५, गोरखाका १६, तनहुँका १०, पर्वतका ५ र म्याग्दीका ४ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ७ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ४५ हजार ९१२ पुगेको छ ।

त्यस्तै बिहीबार गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका र नवलपुरका दुईदुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ८ सय ६५ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
गएको २४ घण्टामा देशभर थप २ हजार ६ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय ११ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय ६८ जना र ४ हजार ७ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार नौ सय ८४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै यस अवधिमा २ हजार १ सय ४१ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या पाँच लाख ४५ हजार ६ सय ६२ पुगेको छ । अहिले निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या आठ हजार पाँच सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।