नेपालमा अहिले कोरोना संक्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत, गण्डकीमा यस महिनाकै सबैभन्दा कम थप ३ सय ७६ मा संक्रमण पुष्टी

covid

जेठ २८, कास्की,

शुक्रबार गण्डकीमा यस महिनाकै सबैभन्दा कम संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४ सय २ जनामा गरिएको नमुना परीक्षणमा ३ सय ७६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

जसमध्य कास्कीका १ सय ११ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ३०८ पुगेको छ ।

शुक्रबार गण्डकीमा यो महिनाकै सबैभन्दा कम अर्थात ६ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा पोखरामा उपचाररत चार जना र गोरखा र नवलपुरका एकएक जना रहेका छन् । गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८२३ पुगेको निर्देशनालयले जनाएको छ ।

यसैबिच गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

नेपालमा अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार सात सय ९ जना र ५ हजार ५ सय ८४ जनाको एन्टिजेनबाट परीक्षण गर्दा एक हजार ४१ जनामा सङ्क्रमण पाइएको हो ।

योसहित अहिलेसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ । यस्तै, गएको २४ घण्टामा थप ६७ जनाको ज्यान गएको छ । कोरोनाका कारण अहिलेसम्म ८ हजार ३ सय ५ जनाको ज्यान गएको छ । नेपालमा अहिले ७५ हजार २ सय ७५ जना सक्रिय सङ्क्रमित छन् ।