“औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन गर्न तयार छु” : विश्वासको मत माग्दै प्रधानमन्त्री ओली

oli ji

बैशाख २७, कास्की,

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

सरकारले सबै पक्षसँग छलफल गर्न तयार रहेको भन्दै उहाँले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन गर्न आफू तयार रहेको बताउनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले कारण जेसुकै भए पनि पछिल्ला गतिविधि, चिन्तन, प्रयास र ध्यानहरू जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसो हुन नसकेको बताउनुभएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमणविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने समयमा ध्यान अन्तै मोड्न कामहरू भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भइरहेको भन्दै उहाँले नभएका कनेक्शन अनैतिक ढङ्गले देखाउने खालका क्रियाकलाप भइरहेको बताउनुभयो । यस्तै उहाँले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने अहिलेको आवश्यकता रहेको भए पनि कसरी हुन्छ सरकारलाई असफल बनाउने खेल सुरु भएको बताउनुभयो ।

एउटा पनि पीसीआर परीक्षण गर्ने क्षमता नभएको नेपालमा ८६ ठाउँमा पीसीआर परीक्षण गर्न सरकार सफल भएको भन्दै उहाँले पहिलो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकार सफल भएको दाबी गर्नुभयो । अहिले फेरि दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएकाले यसलाई पनि सबैले मिलेर परास्त गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ ।