एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ : शिक्षामन्त्री श्रेष्ठ

Krishna-Gopal-Shrestha

जेठ १०, कास्की,

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताउनुभएको छ । उहाँले यसको विकल्पका विषयमा छलफल भइरहेको बताउनुभयो ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र निर्णय लिने जानकारी दिनुभयो ।

शिक्षामा २० प्रतिशत बजेट छुट्याउनु पर्ने माग सहित ज्ञापनपत्र बुझाउन पुगेका विद्यार्थिहरुसँग मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०७८–०७९ मा शिक्षा क्षेत्रमा बजेट बढ्न सक्ने बताउनुभएको छ ।

अनेरास्ववियुले ज्ञापनपत्रमा विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु गर्नु पर्ने, त्यस्तै सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने, भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्नेलगायतको माग राखेको छ ।