सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरिने, गण्डकी प्रदेशको प्रदेश प्रमूखमा पुनः शेरचनलाई सिफारिस

bhandari-and-deuba

साउन १२, कास्की,

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ । केहीलाई तत्कालै हटाउने तयारी अनुसार गण्डकी प्रदेश, प्रदेश २ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संविधान निर्माणसँगै प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उहाँले त्यतिबेलाका सातैजना प्रदेश प्रमुख फेर्नुभएको थियो । ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ ।

अहिले गण्डकी प्रदेशमा सीता पौडेल, प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहनुभएको छ ।

गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

यसैबिच
नेकपा माओवादी केन्द्रको आज बसेको आकस्मिक स्थायी कमिटीको बैठकले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ ।


अमिक शेरचन

त्यस्तै सो पार्टीले तिलक परियारलाई अन्य कुनै प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्ने गरी सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई र परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेको थियो ।