सेरममा भएको आगलागीले खोप ल्याउन नसकेको सरकारको दाबी

hhh

बैशाख २४, काठमाण्डौ,

सरकारले विश्व परिस्थिति, सेरम इन्टिच्युटमा भएको आगलागीलगायतका कारण कोरोना भाइरसविरुद्धको खोप आयात गर्न नसकिएको दाबी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नै बिचौलियाका कारण खोप आपूर्तिमा समस्या भएको अभिव्यक्ति दिएको र खोप आयात रोकिएको समाचार आइरहेका बेला स्वास्थ्य मन्त्रालयले कोभिशिल्ड खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्टिच्युटमा भएको आगलागी, क्षमता विस्तारमा अवरोध, विश्व परिस्थितिलगायतका कारण १० लाख डोज खोप प्राप्त गर्न नसकिएको जनाएको छ ।

२० लाख डोज खोप खरिदको योजना रहेकोमा १० लाख प्राप्त भएर लगाइसकिएको र बाँकी १० लाख उपलब्ध हुनेबित्तिकै उपलब्ध गराउने कम्पनीले जनाएको मन्त्रालयको भनाइ छ । ५० लाख डोज कोभिशिल्ड खोप खरिदको योजना नरहेको पनि मन्त्रालयले जनाएको छ ।

अन्य खोप प्राप्त गर्न कुटनीतिक प्रयास भइरहेको मन्त्रालयले जानकारी दिएको छ । कोभिशिल्ड खोपको खरिदका विषयमा मन्त्रालयलाई जोडेर भइरहेका हल्लामा सत्यता नरहेको पनि स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।