हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ : लायन्स क्लव अफ पोखराको अभियान

food bank

जेठ १९, कास्की,

लायन्स क्लव अफ पोखरा अभियानले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगनाले जानकारी दिनुभयो ।

पोखराको चिप्लेढुंगाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसंग सहकार्य गर्दै पोखराका विभिन्न चोकहरुमा सञ्चालन गरिने ढुंगनाले बताउनुभयो । उहाले भन्नुभयोः ‘कोभिड–१९ ले विश्वलाई चुनौती दिइरहेको परिस्थितिमा कोरोनाको चेन ब्रेकका लागि भन्दै जारी गरिएको निषेधज्ञाका कारण अलपत्र बटुवा, खाद्य अभावले अप्ठ्यारो अवस्थामा परेका परिवारलाई लक्षित गरि यो अभियान शुरु गरेका हौं ।’ बैंकमा हाल दैनिक भान्सामा प्रयोग गरिने दाल, चामल, तेल, नुन लगायतका खाद्य सामाग्री राखिएको छ ।

अभियानको पहिलो दिन बुधबार ११७ जनाले सेवा लिएको कार्यक्रम संयोजक मातृका पोखरेलले जानकारी दिनुभयो । हरेक दिन बिहान ६ बजेबाट ९ बजेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम पनि शुरु भएको उहाले बताउनुभयो ।