प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि पदमुक्त

oli ji

बैशाख २७, काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभएको हो । १५ जना सांसद तटस्थ बसे । मतदानमा कूल २३२ सांसद उपस्थित थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए। जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो । एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षका केही सांसदहरु बैठकमा अनुपस्थित रहे ।

विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री संविधानबमोजिम स्वतः पदमुक्त हुनुभएको छ । संविधानको धारा एक सयको उपधारा ३ मा ’उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । जसमध्ये प्रधानमन्त्रीलाई सरकार जोगाउन १ सय ३६ मत आवश्यक थियो । उहाँले आफ्नै पार्टीबाट समेत पूरा भोट नपाउनुभएको हो ।

अब उनी नेतृत्वको सरकार स्वतः कामचलाउ भएको छ । अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ । प्रमुख विपक्षी कांग्रेस र माओवादी केन्द्रले संविधानको धारा ७६ (२) अनुसार नै संयुक्त सरकार गठनको प्रक्रिया थालिनुपर्ने माग गरेका छन् ।