कांग्रेसको केन्द्रीय समिति बैठक जारी : शीर्ष नेताको छुट्टै बैठक : राजिनामा दिएका आमन्त्रित १९ केन्द्रीय समिति सदस्यद्धार बैठक बहिष्कार

NCMeeting 1

साउन ३०, काठमाण्डौ,

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा कांग्रे शीर्ष नेताहरूको छुट्टै बैठक बसेको छ ।

केन्द्रीय समिति बैठक चलिरहेको बेला शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । महाधिवेशनको नयाँ कार्य तालिका, क्रियाशील सदस्यता विवाद र आमन्त्रित केन्द्रीय सदस्यको राजीनामाको सन्दर्भमा सहमति पहिल्याउन शीर्ष नेताको बैठक छुट्टै बसेको हो । शीर्ष तहका नेताको बैठक एक घण्टा अघि देखि जारी रहेको एक नेताले बताए ।

केन्द्रीय समिति बैठक पनि देउवानिवासमै जारी छ । देउवा शीर्ष नेताको बैठकमा रहेकाले केन्द्रीय सहमतिको बैठक उपसभापति विमलेन्द्र निधिले सञ्चालन गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि जारी छ । शुक्रबारसम्म ३१ केन्द्रीय र आमन्त्रित सदस्यहरुले धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको देखिएको छ । कांग्रेसले केन्द्रीय सदस्यको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ ।

आजको बैठक अघि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक बसेको छ । महामन्त्री डा. शशाङ्क कोइरालानिवास महाराजगञ्जमा बसेको बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल भएको थियो । आमन्त्रित केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउनुपर्ने मागलाई स्वीकार गर्न नसकिने बैठकको निर्णय रहेको सहभागी एक नेताले जानकारी दिए ।

आमन्त्रित २२ केन्द्रीय सदस्यले शुक्रबार राजीनामा बुझाएका थिए । राजीनामा बुझाउने अधिकांश सभापति शेरबहादुर देउवापक्षका छन् । शुक्रबार राजीनामा दिएका २२ मध्ये तीन जना आमन्त्रित केन्द्रीय सदस्य मात्रै कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहभागी भएका छ्न् । अरु १९ जनाले भने बैठक बहिष्कार गरेका छन् ।